बागमती सरकारबाट बाहिरिँदै एमाले, आजै राजीनामा बुझाइने  

काठमाडौँ । केन्द्रीय गठबन्धनमा आएको फेरबदलको असर प्रदेशमा पर्न सुरू भएको छ । सोहीक्रममा बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ । आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् ।

चार महिनाअघि चैत १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो । तर, पुनस् कांग्रेस र एमालेको सहमतिपछि एमालेले सरकार छाड्ने भएको हो ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समर्थन फिर्तासहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउने एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले बताए ।

आफूहरू अहिले काठमाडौँमा रहेको र मुख्यमन्त्री जम्कट्टेल पनि काठमाडौँ रहेकोले साँझसम्म हेटौंडा फर्किएर सामूहिक राजीनामा दिने उनले बताए ।

बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् । नेता थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठ छन् ।