क्षतिको दावी भुक्तानी प्रक्रिया छिटो टुंग्याउने बीमा व्यवसायी संघको प्रतिवद्धता
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा बीमा भएका सवारीसाधन तथा भौतिक संरचनाको यथार्थ विवरण संकलन गरी सम्बन्धित निकायमार्फत प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमित सम्पत्तिको क्षतिपूर्ति छिटो उपलब्ध गराउने प्रतिबद्धता संघले प्रष्ट पारेको छ। संघले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
