विपद् व्यवस्थापनका लागि स्रोतको अभाव हुँदैन : अर्थमन्त्री
काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि जानकारी दिँदै उनले तत्कालको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक र बाह्य दुवैतर्फबाट बजेटको सुनिश्चितता भइसकेको बताए। राष्ट्रिय संकटको घडीमा सम्पूर्ण राजनीतिक दलहरू एकै ठाउँमा उभिनु नेपाली राजनीतिको सकारात्मक पक्ष भएको भन्दै उनले यस संकटलाई सम्पूर्ण समाजको अवधारणाअनुरूप सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सबै एकीकृत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
