विषाक्त मदिरा सेवन गर्दा भारतमा दुई जनाको मृत्यु, १९ अस्पताल भर्ना
भावनगर । भारतको गुजरातस्थित भावनगर जिल्लामा कथित रूपमा नक्कली मदिरा सेवन गर्दा दुई जनाको मृत्यु भएको छ भने १९ जना बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बुधबार बताएका छन्। घटनाको अनुसन्धानका क्रममा प्रहरीले चार जना मदिरा तस्करलाई नियन्त्रणमा लिएको छ। अधिकारीहरूका अनुसार प्रभावित सबैले आईएमएफएल (इन्डियन मेड फरेन लिकर) ब्रान्डका नक्कली बोतलमा भरिएको मदिरा सेवन गरेका थिए। मदिरा सेवन गरेपछि उनीहरूको स्वास्थ्य अवस्था बिग्रिएको थियो। भावनगरका जिल्ला अधिकारी मनिष कुमारका अनुसार नक्कली बोतलमा भरिएको मदिरा सेवन गरेपछि बिरामी परेका व्यक्तिहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो।
