अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी डा. सीके राउतलाई
काठमाडौँ : विभिन्न राजनीतिक दलहरूको सहभागितामा बनेको अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। मोर्चाको मंगलवार सम्पन्न बैठकले राउतलाई संगठनको प्रवक्ताका रूपमा तोकेको हो। जिम्मेवारी पाएपछि उनले मोर्चाका तर्फबाट सार्वजनिक विज्ञप्तिसमेत जारी गरेका छन्। बैठकले आगामी प्रदेश निर्वाचन सम्पन्न नभएसम्म मोर्चामा आबद्ध कुनै पनि दल सरकारमा सहभागी नहुने नीतिगत निर्णयसमेत गरेको छ। सरकारमा सहभागिताभन्दा राजनीतिक सहकार्य र साझा एजेन्डालाई प्राथमिकता दिने मोर्चाको निर्णयले आगामी निर्वाचनसम्म उसको राजनीतिक भूमिकालाई प्रतिपक्षीय वा स्वतन्त्र राजनीतिक समन्वयतर्फ केन्द्रित गर्ने संकेत गरेको छ।
