सामाजिक सञ्जालको तस्बिर राखेर समाचार लेख्नु अपराध होइन: वरिष्ठ अधिवक्ता थापा
काठमाडौँ : वरिष्ठ अधिवक्ता शम्भु थापाले सामाजिक सञ्जालको तस्बिर राखेर समाचार लेख्नु अपराध नभएको जिकिर गरेका छन् । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा श्रेष्ठको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले समाचार लेख्नु पत्रकारको धर्म भएको र उहाँले त्यही लेख्ने धर्मको पालना गरेको जिकिर गरे । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटमाथि बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा सम्बन्धित व्यक्तिले आफैँ सार्वजनिक गरेको तस्बिरलाई आधार बनाएर समाचार लेख्दा वैयक्तिक अधिकार हनन नहुने तर्क गरे।
