SHARE
कालिका खबर · बुधबार २७ साउन २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

सुर्खेतमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१३, रामघाटमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार साँझ करिब ५ बजे ४९ वर्षीय जयबहादुर रानाले आफ्नी ५० वर्षीया श्रीमती महेश्वरी रानामाथि पेट्रोल छर्केर आगो लगाएका थिए। घटनालगत्तै उनीहरूकी १८ वर्षीया छोरी पुष्पा रानाले आगो निभाएकी थिइन्। आगोले महेश्वरीको अनुहार, घाँटीसहित शरीरका विभिन्न भागमा असर गरेको छ। उनको शरीरको करिब ३५ देखि ३६ प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनापछि जयबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।