SHARE
कालिका खबर · मङगलबार १९ साउन २०८३ ०२:४२ AM · 1 मिनेट पढाइ

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, काठमाडौंका वैकल्पिक सडकसमेत अवरुद्ध

काठमाडौं । केही दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार कोशी, बागमती तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने तथा वैकल्पिक मार्गका रूपमा प्रयोग हुने सडकहरूमा पहिरो खस्दा यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ। ललितपुरको बागमती गाउँपालिका–३, पाण्डुर क्षेत्रमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यसैगरी काठमाडौं महानगरपालिका–नागार्जुन नगरपालिका–८, ठुलो खोला क्षेत्रमा पहिरो जाँदा सितापाइला–धार्के सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।