SHARE
कालिका खबर · सोमबार २९ असार २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले राष्ट्रिय गौरवका आयोजनाहरूले उत्पादन र रोजगारीको क्षेत्रमा अपेक्षित योगदान पुऱ्याउन नसकेको बताएका छन्। सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद तामाङले ठुला आयोजनाहरूले मुलुकको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा कस्तो प्रभाव पारे भन्ने विषयमा गहन विश्लेषणको अभाव रहेको उल्लेख गरेका हुन्। राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा उनले आयोजनाहरूले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई मुख्य उद्देश्य बनाउनुपर्नेमा जोड दिए। सांसद तामाङले पछिल्लो समय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वृद्धि देखिए पनि कृषि र औद्योगिक क्षेत्रको योगदान घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे।