प्रतिवेदन लेखनलाई अन्तिम रूप दिँदै एमाले कार्यदल
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनःगठनसम्बन्धी कार्यदलले देशव्यापी सुझाव सङ्कलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शङ्कर पोखरेललाई दिएको छ । सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव सङ्कलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ । प्राप्त सुझावलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित थिए ।
