SHARE
कालिका खबर · बुधबार २४ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी पक्राउ

ललितपुर : ललितपुरको नख्खु कारागारबाट फरार भएका लागुऔषध (अफिम) मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। २०८२ साल भदौ २३–२४ गते भएको जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका प्रतिवादीलाई खोजतलासका क्रममा प्रहरीले मकवानपुरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं.६ ज्यामिरे बस्ने ३९ वर्षका सुकलाल वाइवा रहेका छन्। लागुऔषध अफिम सम्बन्धी मुद्दामा अदालतबाट २० वर्षको कैद सजाय पाएर नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका वाइवा आन्दोलनका क्रममा फरार सूचीमा रहेका थिए।