सहरमा भीड छ तर, 'हरेक मान्छे एक्लो छ' : पढाइ, रोजगारी र पारिवारिक बोझदेखि एक्लोपनको पीडासम्मका मानसिक समस्या
काठमाडौँ । सहरभित्र मानिसको भीड छ । तर, भीडभित्रका हरेक मानिस एक्ला छन् । यो भावना होइन । न त यो साहित्यिक अभिव्यक्ति नै हो । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ह्यापी माइण्डसँगको सहकार्यमा काठमाडौँमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर र टोलका विभिन्न ठाउँमा पुगेर विभिन्न उमेर समूह र पेशासँग सम्बन्धित व्यक्तिहरुसँग कुराकानी गरेपछि निकालिएको निष्कर्ष हो । शिविर जेठ ३० गते शनिवारदेखि असार ८ गते सोमबारसम्म चलेको थियो । स्वयम्भू भगवान पाउ, कमलपोखरी, पञ्चमुखी हनुमान मन्दिर खरिबोट, बौद्ध स्तुप परिसर, इटुम्बहाल, चिवाद्यो आँगन, गहनापोखरी, हाँडीगाउँ डवली, न्हुःघ जोशी देगल मन्दिर परिसरगरी ९ ठाउँमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा आएर सेवा लिनेमा उमेरगत रुपमा १० वर्ष र अधिकतम ८४ वर्ष उमेर व्यक्तिलाई परामर्श प्रदान गरियो । यसमध्ये सबैभन्दा धेरै १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्ति हुनुहुन्थ्यो । यस्तै लैङ्गिकताका आधारमा ५५ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक ५५५ जना महिला र ४०५ जना पुरुष सहभागी हुनुभएको थियो । परामर्शका क्रममा सेवाग्राहीले सुनाएका मनका व्यथा बालबालिका जसको अन्तरमनले खेल्न खोजिरहेको छ । तर, खेल्दा पढाइ कमजोर हुने हो कि, परीक्षामा ‘जीपीए’ कम भएर अभिभावकले गाली गर्नुहोला कि भन्ने गहिरो डर छ । जीवनको उत्तरार्धमा पुगेका ज्येष्ठ नागरिक जसले आधुनिक सहरको कोलाहलमा आफ्नो भाषा बोल्ने र मनका कुरा सुनिदिने कोही देख्नुहुन्न । यसबाट उहाँहरुले समाजबाट आफू ‘परित्याग गरिएको’ महसुस गरिरहनु भएको अहिलेको अवस्थाले देखाउँछ । शिविर सञ्चालन गर्ने ह्याप्पी माइण्डसका संस्थापक श्रीया गिरीले अनुभव सुनाउनुभयो । यी दुई प्रतिनिधि अवस्था मात्र हुन् । मनोसामाजिक शिविरबाट प्राप्त भएको तथ्याङ्कले सहरमा मानसिक स्वास्थ्य अब व्यक्तिगत समस्या मात्र नभई एउटा भयावह ‘जनस्वास्थ्य संकट’ का रूपमा विकसित हुँदै गएको गिरीको अनुभूति छ । शिविरमा १० वर्षदेखि ८४ वर्ष उमेर समूहका व्यक्तिहरूले आफ्नो मनको गाँठो फुकाउनु भएको थियो । बालबालिका र किशोरकिशोरी : ‘डिजिटल फिक्सेसन’ र आत्महानीको जोखिम १० वर्षदेखि १९ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीमा शैक्षिक नतिजाको तनाव यति गहिरोदेखियो कि, कम जीपीए आउँदा परिवार र विद्यालयबाट हुने सजायको डरले उनीहरूको निद्रा नै बिथोलिएको छ । प्रविधिप्रतिको अत्याधिक आशक्ति (डिजिटल फिक्सेसन) ले उनीहरूमा ध्यान केन्द्रीत गर्न नसक्ने (ल्याक अफ कन्सन्ट्रेसन) समस्या बढेको छ । अझ चिन्ताजनक कुरा त के छ भने उनीहरुमा ‘कसैले मलाई बुझ्दैनन्’ भन्ने भाव आउँछ । पटक पटक दुव्र्यवहारमा परेका कतिपय बालबालिकाहरू ‘आत्महानी’ (सेल्फ हार्म)को अवस्थासम्म पुगेको पाइएको छ । विद्यालयमा अनुशासनका नाममा दिइने शारीरिक सजाय र घरभित्रको असहयोगी वातावरणले उनीहरूलाई थप गुम्स्याएको छ । युवा पुस्ता : करियर र सम्बन्धको अनिश्चितता २० वर्षदेखि २९ वर्षका युवाहरूमा भने भविष्य र करियरको चिन्ता प्रमुख देखिएको छ ।
