SHARE
Samata Press · शनिबार ६ असार २०८३ ०५:३१ PM · 1 मिनेट पढाइ

राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका भौतिक संरचनाको परीक्षण थालिएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्राउने पोखरीको परीक्षण थालिएको हो ।  रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बाँधमा निर्माण भएको डिसेन्डरमा शुक्रबार पानी हालिएको र आइतबारदेखि सुरुङमा पानी भरिने जानकारी दिए । “निर्माण सकिएका बाँध र सुरुङका भौतिक संरचनाको परीक्षण गर्न थालिएको हो”, उनले भने, “भौतिक संरचना र विद्युत्गृहका उपकरणहरूको परीक्षणपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्छ ।” तिल्केनीचौरमा विद्युत्गृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । बीस मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत्गृह परिसरमा निर्माण भएको ‘स्विचयार्ड’ गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको प्रबन्ध सञ्चालक केसीले बताए ।  भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ विसं २०७४ मङ्सिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । पटकपटक गरी सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्यअनुुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए ।   कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताउनुभयो ।