SHARE
Samata Press · बुधबार १० भौ २०८३ ०९:०९ PM · 1 मिनेट पढाइ

भोटेकोशीमा बाढी: १५ हेलिकप्टरबाट सेनाले गर्‍यो ९७ जनाको उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि १५ वटा हेलिकप्टर परिचालन गरिएको छ । नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी १५ वटा हेलिकप्टरमार्फत उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको हो । सेनाका अनुसार हालसम्म नेपाली सेनाले हवाईमार्फत ९७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका तथा घाइतेको उपचारका लागि वीरेन्द्र सैनिक अस्पतालबाट खटिएको मेडिकल टोलीले त्रिशूलीस्थित नं १ सैन्य तालिम केन्द्रमा आपत्कालीन उपचार सेवा प्रदान गरिरहेको छ । यसैबिच विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पतालको सेट सहित आवश्यक मेडिकल सामग्री, औषधि तथा उपकरणसमेत त्रिशूलीतर्फ पठाउने व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन हवाई उद्धारसँगै स्वास्थ्य उपचार र आवश्यक चिकित्सकीय सामग्रीको व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ ।