SHARE
Samata Press · बुधबार १० मंिर २०८३ १०:२५ PM · 1 मिनेट पढाइ

डिजिटल हिंसाको सिकार बन्दै महिला, माइतीघरबाट विरोध

काठमाडौँ । महिलामाथि हुने लैङ्गिक हिंसामा पछिल्लो समय डिजिटल माध्यमको प्रयोगसमेत बढ्दै गएको विज्ञ तथा सरोकारवालाले बताएका छन्। उनीहरूका अनुसार महिलामाथि हुने हिंसाको स्वरूपमा पछिल्लो समय परिवर्तन आएको छ। घरेलु हिंसादेखि सार्वजनिक स्थलसम्म महिलाहरू विभिन्न प्रकारका हिंसा, दुर्व्यवहार तथा शोषणको सिकार भइरहेका छन्। यसमा डिजिटल माध्यमको प्रयोगसमेत प्रमुख चुनौतीका रूपमा देखिएको छ। सन् २०२६ को लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले ‘न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ, दण्डहीनताको अन्त्य गरौँ’ भन्ने नारालाई अघि सारेको छ। अभियानले हिंसापीडितलाई न्याय र सुरक्षा प्रदान गर्नुका साथै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकतामा जोड दिएको छ। वर्ल्ड मार्च वुमनकी राष्ट्रिय संयोजक एवं अन्तर्राष्ट्रिय समितिकी सदस्य दियालक्ष्मी श्रेष्ठले पछिल्लो समय महिलामाथि हुने हिंसाका स्वरूप परिवर्तन हुँदै गएको बताइन्। उनका अनुसार पितृसत्तात्मक सोच र पुँजीवादी संरचनाका कारण प्रविधि, नीति तथा विभिन्न माध्यमको प्रयोगबाट महिलामाथि शोषण र दमन हुने अवस्था सिर्जना भइरहेको छ। डिजिटल माध्यमबाट हुने हिंसा नियन्त्रण गर्न राज्यले सामाजिक सञ्जाल सञ्चालनका लागि निश्चित मापदण्ड निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने श्रेष्ठको भनाइ छ। समाजमा जरा गाडेर बसेको पितृसत्तात्मक सोचकै कारण डिजिटल हिंसा बढिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रण र पीडितको संरक्षण गर्ने मुख्य जिम्मेवारी राज्यको भएको बताइन्। ‘यसको न्यूनीकरण गर्नका लागि राज्यले सबै सामाजिक सञ्जालका लागि निश्चित मापदण्ड बनाएर कडाइका साथ लागू नगरेसम्म यस्ता खालका डिजिटल हिंसा हुने सम्भावना बढिरहन्छ,’ उनले भनिन्। त्यस्तै, समाजकार्य तथा मनोविज्ञानकी विद्यार्थी आरुषी लामिछानेले हिंसालाई शारीरिक दुर्व्यवहारमा मात्र सीमित गरेर हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताइन्। महिलामाथि हुने मानसिक, सामाजिक तथा भावनात्मक दुर्व्यवहारलाई पनि हिंसाकै रूपमा बुझ्नुपर्ने उनको भनाइ छ। लामिछानेका अनुसार सामाजिक सञ्जालमा महिलाको पहिरन, हिँडडुल, व्यक्तिगत जीवन तथा गतिविधिलाई लिएर गरिने नकारात्मक टिप्पणी र साइबर बुलिङ सामान्यजस्तै बन्दै गएको छ। यस्ता गतिविधिले महिलाको आत्मसम्मान, मानसिक स्वास्थ्य र सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्ने गरेको उनले बताइन्। साइबर बुलिङका घटनामा प्रभावकारी कानुनी कारबाही हुनुपर्नेमा पनि उनले जोड दिइन्। नेपालमा महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकारको गम्भीर सरोकारको विषय बनेको छ। संयुक्त राष्ट्रसङ्घीय महिला निकाय (यूएन वुमन)को सन् २०२५ को प्रतिवेदनअनुसार सन् २०२४/२५ मा नेपालभर लैङ्गिक हिंसाका २१ हजार ६६७ घटना रिपोर्ट भएका थिए। तीमध्ये ८१ प्रतिशत घटना घरेलु हिंसासँग सम्बन्धित थिए। त्यस्तै, प्रतिवेदनअनुसार रिपोर्ट गरिएका यौन हिंसाका पीडितमध्ये ६४ प्रतिशत १८ वर्षभन्दा कम उमेरका थिए। यी तथ्याङ्कले महिला तथा बालिकामाथि हुने हिंसाको गम्भीर अवस्था उजागर गर्छन्। हिंसाको बदलिँदो स्वरूपलाई सम्बोधन गर्न कानुनी व्यवस्था प्रभावकारी बनाउनु, पीडितको संरक्षण गर्नु, डिजिटल साक्षरता अभिवृद्धि गर्नु र समाजमा विद्यमान विभेदकारी सोच अन्त्य गर्नु आवश्यक देखिन्छ।