SHARE
Samata Press · बिहीबार ११ मंिर २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

गाउँ-गाउँमा क्रिकेट क्रेज : खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

बझाङ। बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको छ। कुनै समय मोबाइल तथा टेलिभिजनको पर्दामा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन्। दसैँ, तिहार र छठ पर्वको अवसरमा आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय खेलाडीमा नयाँ उत्साह थपिएको छ। खेलमैदानको अभाव, सीमित स्रोतसाधन र पर्याप्त सरकारी लगानी नहुँदा पनि बझाङका युवाले खेतबारी, खुला चौर तथा उपलब्ध खाली ठाउँलाई क्रिकेट मैदानका रूपमा प्रयोग गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन्। पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपिएल)ले क्रिकेटप्रतिको आकर्षण थप बढाएपछि जिल्लाका विभिन्न गाउँमा प्रतियोगिता विस्तार हुँदै गएका छन्। बाँस्काटिया युवा जागरण अभियानका क्रिकेट संयोजक चक्रजङ्ग रोकायाको पहलमा यस वर्ष खप्तडछान्ना गाउँपालिकामा पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो। दसैँ–तिहारको अवसरमा गाउँमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम गर्ने तयारी भइरहेका बेला सुरु भएको प्रतियोगितामा बाँस्काटियाका १८ टोलीले नाम दर्ता गरी प्रतिस्पर्धा गरेका थिए। मोबाइल तथा टेलिभिजनमा राष्ट्रिय टोलीको खेल हेर्दै आएका स्थानीय युवाका लागि आफ्नै गाउँमा क्रिकेट खेल्ने अवसर नयाँ अनुभव बनेको थियो। खेतमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोलीले उत्कृष्ट प्रदर्शन गरे। सामान्य मानिएका टोलीले समेत प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपछि दर्शक उत्साहित बने। गाउँका किशोर तथा युवाले खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै सिकेको क्रिकेटमा प्रतियोगितामार्फत राम्रो प्रदर्शन गरेको आयोजकको भनाइ छ। क्रिकेट संयोजक चक्रजङ्ग रोकाया भन्छन्, “हाम्रो खप्तडछान्ना गाउँपालिकामा पनि यस्तो प्रतिभा छ भन्ने हामीले कल्पना नै गरेका थिएनौँ। खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै आएका युवा तथा किशोरको खेलले दर्शकको मन जित्यो। सामान्य भनिएका टोलीले उत्तिकै राम्रो प्रदर्शन गरे। यो नै हामी आयोजकका लागि सफलता हो।” स्थानीयस्तरमा क्रिकेट प्रतियोगिता आयोजना भएपछि गाउँका युवाले आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन्। खेलप्रतिको रुचि र सहभागिता बढ्दै जाँदा आगामी दिनमा अझ व्यवस्थित प्रतियोगिता सञ्चालन गर्न सकिने विश्वास आयोजकले गरेका छन्। बाँस्काटियामा क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक सातामै खप्तडछान्ना गाउँपालिका–४ माझिगाउँमा अर्को प्रतियोगिता आयोजना भयो। जिम्माल युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा दुई दर्जनभन्दा बढी टोली सहभागी भएका थिए। प्रतियोगितामा विजेताका लागि एक लाख ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो भने उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गरेका थिए। आकर्षक पुरस्कार र स्थानीय युवाको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको थियो। जिम्माल युवा क्लबका संयोजक मुकेश रोकायाका अनुसार माझिगाउँमा विगत चार वर्षदेखि नियमित रूपमा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ। वडास्तरीय प्रतियोगितामा विभिन्न वडा तथा गाउँका टोली सहभागी हुने गरेका छन्। “वडास्तरीय प्रतियोगितामा वडा तथा गाउँबाट टोली प्रतिस्पर्धामा उत्रिन्छन्। यहाँबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाहिरका प्रतियोगितामा सहभागी हुन्छौँ। त्यहाँबाट ट्रफी जितेर गाउँ फर्किंदा सबैलाई खुसी लाग्छ। यहाँ नियमित खेल भइरहँदा खेलाडी र गाउँ दुवैलाई फाइदा भएको छ,” उनले भने। स्थानीय क्लबको सक्रियताले क्रिकेटलाई गाउँको खेलकुद संस्कृतिका रूपमा स्थापित गर्न सहयोग पुगेको छ। नियमित प्रतियोगिताले खेलाडीलाई अभ्यास गर्ने, आफ्नो क्षमता पहिचान गर्ने र अन्य टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ। गाउँगाउँमा फैलिँदै क्रिकेटको लहर दसैँ, तिहार र छठ पर्वको अवधिभर बझाङ जिल्लाका दर्जनभन्दा बढी स्थानमा क्रिकेट प्रतियोगिता आयोजना भएका छन्। पहिले निश्चित ठाउँमा सीमित रहेको क्रिकेट अहिले ग्रामीण बस्तीमा समेत फैलिँदै गएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) बझाङका अध्यक्ष प्रविन्द्र धामीका अनुसार जिल्लाका बुंगल, दुर्गाथली, सुर्मा र जयपृथ्वी नगरपालिकामा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेको एक दशकभन्दा बढी भइसकेको छ। पछिल्लो समय भने गाउँगाउँमा प्रतियोगिता हुन थालेका छन्। “सुरुमा निश्चित ठाउँमा मात्रै हुने क्रिकेट प्रतियोगिता अहिले गाउँगाउँमा पनि हुन थालेका छन्। यसले जिल्लामा क्रिकेटप्रतिको आकर्षण बढेको देखाउँछ,” उनले भने। स्थानीय तह, युवा क्लब तथा विभिन्न अभियानको सहकार्यमा प्रतियोगिता आयोजना हुन थालेपछि क्रिकेटको पहुँच ग्रामीण क्षेत्रमा विस्तार हुँदै गएको छ। खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई प्रतिभा पहिचान र युवालाई सकारात्मक गतिविधिमा जोड्ने माध्यमका रूपमा लिन थालिएको उनले बताए। एनपिएलपछि गाउँमा थप उत्साह नेपाल प्रिमियर लिग (एनपिएल) सुरु भएपछि बझाङका गाउँमा क्रिकेटप्रतिको आकर्षण थप बढेको छ। एनपिएलको प्रभावसँगै तलकोट गाउँपालिकामा ‘तलकोट प्रिमियर लिग’ सञ्चालन हुन थालेको छ। बर्सेनि लाखौँ रुपैयाँ पुरस्कार राखेर आयोजना हुने उक्त प्रतियोगिता कहिले पालिकास्तरीय त कहिले वडास्तरीय रूपमा सञ्चालन हुँदै आएको छ। स्थानीय तहको खेलकुद शाखाले सहयोग गर्न थालेपछि विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्रम बढेको हो। मष्टा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख एवं शिक्षा अधिकृत पृथुराज जोशी स्थानीयस्तरमा प्रतिभावान् खेलाडी हुन सक्ने भएकाले उनीहरूलाई आफ्नो क्षमता देखाउने अवसर दिन प्रतियोगिता आयोजना गरिँदै आएको बताउँछन्। “हाम्रा गाउँमा पनि प्रतिभावान् खेलाडी हुन सक्छन्। उनीहरूले आफ्नो प्रतिभा देखाउनका लागि खेल आयोजना गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ,” उनले भने। उनका अनुसार वडासँगको सहकार्यमा खेलकुद क्षेत्रमा लगानी गर्ने गरिएको छ। स्थानीयस्तरमा प्रतियोगिता आयोजना हुँदा खेलाडीले आफ्नो क्षमता देखाउन पाउनुका साथै खेलप्रति समुदायको रुचि बढ्दै गएको छ।