ताप्ली गाउँपालिकाले भन्यो- रसुवा बाढीबाट प्रभावितहरू सम्पर्कमा आउनू
उदयपुर। ताप्ली गाउँपालिकाले रसुवामा आएको भीषण बाढी तथा पहिरोका कारण आफ्ना कोही नागरिक प्रभावित भएको भए सम्पर्कमा आउन आग्रह गरेको छ। गाउँपालिकाले बुधबार सूचना जारी गर्दै बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बाढीपहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। गाउँपालिकाका अनुसार उदयपुरमा स्थायी बसोबास भई हाल गोसाइँकुण्ड धाम तीर्थयात्रा, रोजगारी वा अन्य कामकाजको सिलसिलामा रसुवा जिल्ला तथा नुवाकोट, धादिङ, गोरखा र चितवनमा रहेका ताप्ली गाउँपालिकाका नागरिक बाढीपहिरोबाट प्रभावित भएको वा बेपत्ता तथा घाइते हुनसक्ने सम्भावनालाई ध्यानमा राखी सूचना जारी गरिएको हो। गाउँपालिकाले ती क्षेत्रमा रहेका आफ्ना नागरिकलाई बाढीपहिरोसम्बन्धी कुनै सूचना वा जानकारी प्राप्त भए नजिकको प्रहरी कार्यालय वा गाउँपालिकाको सम्पर्क नम्बरमा जानकारी गराउन अनुरोध गरेको छ। गाउँपालिकाले विपद्का कारण प्रभावित नागरिकको अवस्था तथा सम्भावित जोखिमबारे जानकारी प्राप्त गरी आवश्यक समन्वय गर्न सूचनामार्फत आग्रह गरेको हो। सूचनामा गाउँपालिका अध्यक्ष दुर्गराज विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराई र सूचना अधिकारी सुलभ रिजालका सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ।
