अर्घाखाँचीमा जिल्लास्तरीय स्वास्थ्य समीक्षा कार्यक्रम सुरु
अर्घाखाँची। जिल्लास्तरीय स्वास्थ्य समीक्षा कार्यक्रम बुधबारदेखि सन्धिखर्कमा सुरु भएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभरका स्वास्थ्य संस्थाबाट सञ्चालन गरिएका विभिन्न स्वास्थ्यसम्बन्धी योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि, समस्या र चुनौतीको समीक्षा गर्ने उद्देश्यले कार्यक्रम गरेको हो। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले गरे। उद्घाटन गर्दै कोइरालाले नागरिकले सन्तुष्टि अनुभूति गर्ने गरी काम हुन सके मात्र सेवा प्रवाहको औचित्य पुष्टि हुने बताए। विभिन्न महामारी र प्रकोपका बेला स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले उत्कृष्ट काम गरेको स्मरण गर्दै कोइरालाले सेवा प्रवाहलाई अझ जनमुखी र नागरिकमैत्री बनाउन विगतको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए। स्वास्थ्य अत्यन्त संवेदनशील क्षेत्र भएकाले सानो हेल्चक्र्याइँले ठूलो समस्या निम्त्याउन सक्ने भन्दै उनले सबै सचेत बन्नुपर्ने बताए। वार्षिक समीक्षाले विगतको मूल्याङ्कन गर्दै भावी रणनीति तय गर्न सहयोग गर्ने भन्दै उनले यथार्थ चित्रण भए मात्र अगाडिको बाटो तय गर्न सजिलो हुने उल्लेख गरे।
