देशका ८ प्रमुख सहरमा फ्लडलाइटसहितको क्रिकेट रंगशाला बनाउने सरकारको योजना
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार ‘होम एन्ड अवे’ आधारमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो । लाम्सालले आठ सहरमा निर्माण गरिने रंगशालामा कम्तिमा ८ हजार दर्शक क्षमताका साथै फ्लडलाइटको व्यवस्था गरिने बताएका छन् । सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उनले उल्लेख गरेका छन् ।
