महासचिव गुटेरेस सगरमाथा क्षेत्र जाँदै

 काठमाडौँ - नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् । 

मौसम अनुकूलताअनुसार उनी आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।

त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा नेपालको टोलीसँग बैठक गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासचिव गुटेरेस दिउँसो पोखरा भ्रमणका लागि प्रस्थान गर्ने छन् ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र संघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर(हाम्दी र संयुक्त राष्ट्र संघका अन्य अधिकारीहरू सहभागी छन् ।