प्रधानमन्त्री ओलीको राष्ट्रसंघका महासचिव गुटेरेससँग भेट   

काठमाडौँ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन्। 

शनिबार दिउँसो स्थानीय समय अनुसार सवा ३ बजे संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ।

यस्तै स्थानीय समय अनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजित  संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गरे। यस्तै संयुक्त राष्ट्रसङ्घका उपमहासचिव रहब फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गर्ने कार्यक्रम रहेको छ।

यसैबिच शनिबार साँझ नै राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गरेको छ ।

क्यानडामा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा न्यूयोर्क आई भ्रमण दलमा सामेल हुने कार्यक्रम रहेको राष्ट्रसङ्घका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए। 

प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले राष्ट्रसङ्घका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराएका थिए।