बाराको सिमरा चोकमा बस दुर्घटना : एकको मृत्यु, ११ जना घाइते

कलैया - बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरा चोकमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
गएराति चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस मोटरसाइकललाई बचाउने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा भारतको मोतिहारी बस्ने २७ वर्षीय मुकेश साहको बयोधा हस्पिटल गण्डक पर्सामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कलैया उपमहानगर-२० बस्ने ४५ वर्षीय वीरबहादुर महतो र पर्सा वीरगञ्ज महानगर-८ बस्ने ३० वर्षीय सुरज साह कानु गम्भीर घाइते भएका छन् ।

यसैगरी, दुर्घटनामा वीरगञ्ज महानगर-८ बस्ने १८ वर्षीया प्रीया गुप्ता, १६ वर्षीया मनिषा साह, वीरगञ्ज महानगर-१२ बस्ने सुनिल कुमार गुरुङको छोरी २३ वर्षीया सेजल गुरूङ घाइते भएकी छिन् ।