कोशीमा सभामुख लिन राप्रपाले कसैसँग सौदाबाजी गर्न पर्दैन : अध्यक्ष लिङदेन

काठमाडौं - राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आजको आवश्यकता रहेको बताएका छन् । साउदी अरब र युएई भ्रमणपश्चात स्वदेश फर्किएका लिङ्देनले आज (मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा धार्मिक सद्भाव कायम राख्न हिन्दू, बुद्ध, किराँतलगायतका सबै धर्मलाई समान सम्मानसहितको हिन्दू राष्ट्र आवश्यकता रहेको बताएका हुन् ।

धरानको घटनालाई संकेत गर्दै देशमा बलियो र इमान्दार नेतृत्व नभएकोले समस्या देखिएको दाबी गरे । उनले भने, ‘जनतामा चोट पुग्ने जुन क्रियाकलाप भइरहेको छ । त्यो भनेको दिल्लीमा बनेको १२ बुँदे सहमतिले भएको हो । त्यसले तय गरेको मार्ग चित्र हो । अहिले पनि बहुसंख्यिक जनसंख्याको आस्थामा जुन चोट पुग्ने गरी जुन क्रियाकलाप भइरहेको छ, त्यसमा सरकारको उदाशिनता र धर्म निरपक्षताको दूष्परिणाम हुन् ।’

राप्रपाले प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको नेतृत्व प्राप्त गर्दा कुनै किसिमको लेनदेन नगरेको स्पष्ट पारेका छन् । उनले कोशीमा सभामुख र मन्त्री लिने भयो भनेर भ्रम छरिएको र झुट भएको बताए । उनले कोशीमा प्रकियाको हिसाबमा सत्ता गठबन्धनलाई विश्वासको मत दिने अवस्था नरहेको बताए ।

लिङ्देनले आफूहरुको दलको हैसियत अनुसार समिति सभापति लिएको दाबी गरे । समिति सभापति लिनुलाई लेनदेनसँग जोडेर प्रचार गरिएको भन्दै उनले भने, ‘कुनै लेनदेनको सहमति भएको छैन ।’ अध्यक्ष लिङ्देनले भने कोशी प्रदेशमा प्रक्रियागत रुपमै राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताए । उनले अघि भने, ‘अहिलेको अवस्थामा सभामुख फालाफाल अवस्थामा छ । सभामुख लिन कसैसँग सौदा गर्नै पर्दैन ।’

लिङ्देनले संसदीय समितिमा दलहरुको हैसियत अनुसार हुनुपर्ने माग गरेकाले एउटा समिति प्राप्त गरेको जानकारी गराए । उनले प्रश्न गरे, ‘एमालेले ३ वटा समितिको नेतृत्व पाउने भएको छ, के उसले पनि गठबन्धनसँग लेनदेन गरेको हो त ।’ पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका सांसद दीपकबहादुर सिंह सर्वसम्मत भएका छन् ।