चीन भ्रमणमा नयाँ नाका खोल्ने र यसअघिका सहमति कार्यान्वयनमा जोड दिन्छु : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चीन भ्रमणका क्रममा नेपाल–चीनबीचको नाका सञ्चालन र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उनले निकट भविष्यमा हुने चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गति लिने बताए । ‘नेपाल र चीनबीचको आर्थिक र व्यापार बढाउने तथा सीमानाकाको सञ्चालन गर्ने र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेका छन्’, उनले भने । चीन भ्रमणका क्रममा सडक, ऊर्जा, कृषि, विज्ञान प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रका विषयमा छलफल गरिने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिने बताए ।