मुगुमा एकै परिवारका चारको हत्या : कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा

 मुगु - मुगुमा भएको चार जनाको सामुहिक हत्या घटनाको थप अनुसन्धानका लागि प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । हिजोदेखि घटनास्थल सुरक्षित राखेर प्रहरीले आज बिहानदेखि अनुसन्धान गर्ने र शव उठाउने तयारी गरेको छ ।

शुक्रबार बिहान ९ बजे फेला परेको ४ जनाको शव अझै उठाइएको छैन । अपराध अनुसन्धानमा क्राइम सिन विश्लेषण महत्वपूर्ण मानिन्छ । त्यसैले प्रहरीले अनुसन्धानमा ‘मिस लिड’ नहोस् भनेर सुरक्षा दिएर शव र घटनास्थल सुरक्षित राखेको हो ।
नेपालगञ्जबाट प्रहरीको फरेन्सिक टोली समेत मुगु पुगेको छ । केही ब्यक्तिमा निगरानी बेडढाइएको जनाइएको छ ।

छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदवी बोहरासहित उनका तीन छोराछोरीको शव फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहरी गरी हत्या गरिएको आशंका छ । २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको बताइएको छ ।

आन्तरिक रिसिबी हत्याको कारण हुनसक्ने मुगु डीएसपी वीरेन्द्र थापाले बताएका छन् । केही व्यक्तिमाथि हत्याको आशंका गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटिएको उनले बताए । घटनास्थल रक्ताम्य रहेको हुनाले हत्या नै भएको दाबी प्रहरीको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालका अनुसार उक्त घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।