एमसीसी मङ्गलबारदेखि कार्यान्वयन चरणमा प्रवेश गर्ने

काठमाडौँ - नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान  सहायता  सम्झौता  मिलेनियम  च्यालेन्ज कम्प्याक्ट एमसीसी मङ्गलबार भदौ १२ देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ । एमसीसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट एमसिएले मङ्गलबारदेखि एमसीसी कार्यान्वयनमा जाने जनाएको छ । एमसिए नेपालका कार्यकारी निर्देशक  खड्गबहादुर  विष्टका  अनुसार  एमसीसीको कार्यावधि कार्यान्वयनमा प्रवेश गरेको दिनदेखि पाँच वर्षको हुने छ ।

एमसिए नेपालका अनुसार एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका आयोजनालाई कार्यान्वयन चरणमा प्रवेश गराउनु पूर्व नेपाल सरकारले पूरा गर्नुपर्ने अधिकांश पूर्वसर्त पूरा भएका छन् । छ वटा प्राथमिक पूर्वसर्तमध्ये छैटौँ वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृति तथा जग्गा अधिग्रहण र रुख कटानी पूरा हुन बाँकी छ ।

 यस विषयमा सन्तोषजनक प्रगति भएकाले एमसीसीको केन्द्रीय कार्यालयले कार्यान्वयनमा जान असर नपर्ने जनाएको र काम थालेपछि पनि यो काम पूरा गर्न सकिने अनुमति एमसिए नेपालले पाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।