नागढुङ्गा–मुग्लिन सडक विश्व बैंकको १२ अर्ब ऋण लगानीमा स्तरोन्नति हुँदै

 धादिङ - संघीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ ।

यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहे पनि जगैदेखि विस्तारको काम भने पहिलो पटक भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाका आयोजना पूर्वी खण्डका योजना प्रमुख ईश्वर रिजालले बताए । उनका अनुसार पहिलो चरणअन्तर्गत हालसम्म ३५ प्रतिशत, दोस्रोमा १० प्रतिशत र तेस्रोमा करिब तीन प्रतिशत काम भएको छ । एक तर्फी गाडी सञ्चालन गराउँदै टेवा पर्खाल, नाली निर्माण, मोड सुधार, बेस्ट वाल निर्माणलगायत काम भइरहेको रिजालले जानकारी दिए । नेपाल सरकार र विश्व बैंकको ऋण सहयोगमा १२ अर्बको लगानीमा पृथ्वी राजमार्गको नागढङ्गा–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम थालिएको उनले बताए । ‘नौविसे नागढुङ्गामा निर्माणको काम लगभग अन्तिममा पुगिसकेको छ । पिचको काम बाँकी छ’, उनले भने ।

सडक विभागको तथ्याङ्क अनुसार पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै दैनिक साना ठूला गरी करिब १५ हजार सवारी काठमाडौँ ओहोरदोहोर हुँदै आएका छन् ।