दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किँदै

काठमाण्डाै - दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ ।

आजदेखि दशैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेकाछन् । यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर भएको यात्रुले बताएका छन् । विस्तार तथा मर्मतका लागि खनिएका र भत्काइएका सडकमा समयमै काम नहुँदा यात्रा कष्टकर बनेको हो ।

यसैबीच, नेपाल प्रहरीले चाडपर्वको समयमा हुने दुर्घटना यो वर्ष कम भएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विगतका वर्षको तुलनामा लामो दूरीका सार्वजनिक गाडी दुर्घटना यसपालिको दशैँमा अहिलेसम्म कम भएको जानकारी दिए ।