रामेछापको फर्पुमा पहिरोले घर बगाउँदा तीन जना किशोरीको मृत्यु  

काठमाडौँ । रामेछापको फर्पुमा पहिरोले घरसहित बगाउँदा तीन किशोरीको ज्यान गएको छ । उनीहरूलाई घरमाथिबाट आएको पहिरोले घरसहित बगाएको हो ।

गए राति ८ : ४० बजेको समयमा जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु बस्ने विमान तामाङको घरमाथि देखि झरेको पहिरोले उनकी छोरीसहित दुई छिमेकीका छोरीहरू समेत बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

साँझको समयमा घर भित्र रहेकी विमान तामाङकी छोरी १८ वर्षीय सिता तामाङ, छिमेकीकी १५ वर्षीय आशिका दोङ र पदम १३ वर्षीय लक्ष्मी तामाङलाई माथिबाट आएको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले रामेछाप टाइम्सलाई बताए ।

पहिरोले बगेको उक्त घरमा अन्य मानिसहरु भने नरहेको बुझिएको प्रहरीको भनाई छ ।