रामेछापको दोरम्बा-शैलुङमा पहिरोमा बेपत्ता ६ जनाको शव भेटियो

काठमाडौँ । रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका-३ लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित ६ जनाको शव भेटिएको छ ।

३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव भेटिएको हो ।

गएराति साढे ३ बजे पहिरो जाँदा लेकखर्चका पाँचवटा घरमा क्षति पुगेको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला, प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंह, गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानसहितको टोली अहिले पनि घटनास्थलमै छ ।

एकै गाउँको एक ठाउँमा खसेको पहिरोले ३ वटा घर पूर्णरुपमा र एउटा घरमा आंशिक क्षति गरेको छ ।

सोही गाउँको अर्को पहिरोमा एक घर परेको हो । जुन घरका दुई जनाको मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।