संविधानप्रदत्त अधिकार सुदृढ गर्नु सबैको जिम्मेवारी हो :अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा  शुभकामना सन्देश जारी गरी उनले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नुपर्ने बताएका हुन्। संविधानप्रदत्त अधिकार सुदृढ गर्नु सबैको जिम्मेवारी भएको उनले जनाएका छन्।

उनले सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको सन्देशमा उल्लेख गरेका छन्। ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकारसम्पन्न बनाएको छ र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको छ। यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु हामी सबैको जिम्मेवारी हो’, शुभकामना सन्देशमा भनिएको छ।  

संविधानको थप सुदृढीकरणकका लागि आफ्नो पार्टीले निरन्तर प्रयास गरिरहेको भन्दै उनले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यस अभियानमा सहभागी हुन जनसमुदायमा अपिल गरेका छन्।