सुनकोशीमा खसेको गाडी २५ फिट गहिराइबाट निकालियो, भेटिएनन् यात्रु

काठमाडौँ । सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ कुँडुलेबाट शनिबार साँझ सुनकोसी नदीमा खसेको गाडी भेटिएको छ । गाडी खस्दा बेपत्ता भएका तीनजना युवाहरु भने अझै फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनीलकुमार खड्काका अनुसार सुनकोशीमा खसेको गाडी बिहान २ बजे गोताखोरले झिकेको हो । उक्त गाडी अहिले नदी किनारमा राखिएको छ ।

शनिबार खोटाङको हलेसीबाट भक्तपुर आउँदै गरेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका(१ कुडुलेस्थित मध्यपहाडी लोकमार्ग सडकबाट सुनकोशी नदीमा खसेको थियो ।

बेपत्ता हुनेमा भक्तपुरको सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । अबिन हाइलक्सका चालक हुन् ।

सोही गाडीमा सवार भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटना हुँदा सडकमा फाल हानेर ज्यान जोगाएका छन् । सामान्य घाइते उनको उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए ।

सशस्त्रको गोताखोर टोलीले नदीको झण्डै २५ फिट तल डुबेको अवस्थामा गाडी फेला पारेको हो । सडकबाट पल्टिएपछि गाडी झण्डै ५० मिटर तल पुगेर नदीमा डुब्दा त्यसमा सवार तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।
 फेसबुकबाट प्रतिक्रिया