प्रस्तावित राजदूत भट्टराईबारे निर्णय गर्न समितिको बैठक बस्दै


  
काठमाडौँ । श्रीलंकका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। 

बैठक बिहान ९ बजे बोलाइएको छ। यसअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको थियो। समितिले परराष्ट्र मन्त्रालयसंग भट्टराईको राजदूत पदको योग्यताका लागि आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र माग गरे पनि प्राप्त गरेको छैन।

राजदूत नियुक्ति सम्बन्धी निर्देशिकामा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक गरेको हुनुपर्ने उल्लेख छ। योग्यता नपुगेको पाइएपछि हिजो भट्टराईको नाम अस्वीकृत गर्न बोलाइएको बैठक कोरम नपुगेको कारण निर्णय नगरी सकिएको थियो।  

आज समितिले प्रस्तावित ब्यक्तिको नाम पाएको ४५ दिन पुग्दैछ। ४५ दिन भित्र सुनुवाइसहित निर्णय नभएमा स्वतः अनुमोदन भएको मानिने कानुनी ब्यवस्था छ। 

सरकारले सिफारिस गरेको १७ जना राजदूतमध्ये १६ जनाको नाम अनुमोदन भइसकेको छ।