बेलग्रेडमा अलपत्र नेपाली युवालाई स्वदेश फर्काइयोस्, म्यानपावरलाई कारबाही होस् : धनराज गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमीकको प्रलोभन देखाई विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले कुवेतको नेपाली जन सम्पर्क समिति कार्यक्रममा सहभागी भई आफू स्वदेश फर्किने क्रममा ५ जना नेपाली बेलग्रेडबाट फर्काइएको अवस्थामा पाएको उल्लेख गरे। उनले झापाको खगोल म्यानपावर र काठमाडौंको डायनामिक मुख्य म्यानपावरबाट प्रतव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्‍याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको एवं १० जना नेपाली अझै अलपत्र रहेको बताए।

उनले  १५ जना मध्ये १४ जना झापा जिल्लाको र एकजना बर्दिया जिल्लाको रहेको जानकारी आफूले पाएको बताए। ठगिएका युवाहरुलाई क्षतिपूर्ति दिन र म्यानपावर कम्पनीलाई कारबाही गर्न आग्रह गरे। अलपत्र युवाहरुलाई सरकारले विशेष पहल गरी स्वदेश फर्काउन पनि आग्रह गरे।

उनले भने, ‘कुवेतको नेपाली जनसम्पर्क समिति कार्यक्रममा सहभागी भए हिजो मात्रै म फर्किने क्रममा दोहा ट्रान्जिट भएर आउँदै गर्दा दोहाबाट कतार एयरवेजको जहाज चढ्दै गर्दा त्यहाँ ५ जना नेपाली युवाहरु बेलग्रेडबाट फर्काइएको जहाजहरु त्यसमा लिएर आएको सन्दर्भमा खबर मैले त्यहाँ सूचना पाएँ। ती युवाहरुलाई मैले त्यही जहाजमा भेटेँ। भेटेर के कारण यस्तो भयो भनेर सोध्दा उहाँहरुलाई झापाको खगोल भन्ने म्यानपावरमार्फत काठमाडौंको डायनामिक भन्ने मुख्य म्यानपावरबाट प्रतव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्‍याइएको रहेछ।

त्यहाँ रिसिभ नभएपछि विमानस्थलबाटै पाँच जनालाई फकाइसकिएको अवस्था छ। बाँकी १० जना बेलग्रेट एयरपोर्टमा बिचल्ली भएको अवस्था रहेछ। कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला दिदिबहिनीहरु त्यहाँ हुनुहुन्छ। त्यसमध्ये २७ हजार महिलाहरु गैरकानूनी रुपमा रहेको सूचना पाएको छु। गत ६ महिना भित्र १० हजार नेपाली महिलाहरु गैरकानूनी बाटोबाट त्यहाँ गएका छन्। यो दुःखलाग्दो कुरा हो। सरकारले ढोका बन्द गरेर झ्याल खुला गर्दा यो समस्या आएको हो।’

उनले कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला कामदार रहेको र त्यसमध्ये २७ हजार गैरकानुनी बाटो भई गएको भन्दै यसबारेमा पनि सरकार गम्भीर बन्नुपर्ने बताए।