चिलिमे—त्रिशूली २२० केभी प्रसारण लाइन विस्तार बैशाख दोस्रो हप्ता सकिने

काठमाडौँ - चिलिमे हबदेखि त्रिसूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर  २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युत प्राधिकरणले बैशाख दोस्रो हप्तासम्म काम सक्ने गरी प्रगति भैरहेको बताएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन र प्रसारण लाइन आगामी वैशाखको दोस्रो हप्ता भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको बताएका हुन्  । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेसीमा  २२०र१३३र३३ केभीको क्रमशस् चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण अन्तिम चरणमा छन् ।

साथै, चिलिमे हबदेखि त्रिसूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर  २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेसन  निर्माण गरिएको हो ।

अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक केएफडब्लूको अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक इआइबीको आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।

निर्माणाधीन आयोजनाको जर्मनी तथा युरोपेली युनियनको टोलीले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन स्थलगत अनुगमन गरेको छ ।