आइसिसी यू-१९ विश्वकप : आज नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग

काठमाडौँ - नेपाली यू-१९ क्रिकेट टोलीले आज आइसिसी यू-१९ विश्वकपको दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यो खेल बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुँदैछ ।


पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपालका लागि दोस्रो खेल जित्नै पर्ने दबाब छ। न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा जितको लागि ३०३ रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो । पाकिस्तानलाई हराउन नेपाललाई बलिङ र ब्याटिङमा सुधारिएको प्रदर्शन गर्नैपर्ने चुनौती छ ।

समूह चरणको अन्तिम खेल नेपालले माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ ।