आजदेखि एशियाली खेलकुद महाकुम्भ सुरु

काठमाडौँ - चीनका हाङ्चाओ सहरमा आजदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता एसियाडमा सुरु हुँदैछ ।

समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । एशियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्नेछन् ।

खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कयौँ मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर पुगेका छन् ।

प्रतियोगितामा एशियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो संख्यामा सहभागिता हुनेछ । भविष्यमा हृदयदेखि हृदयसम्म हर्ट टु हर्ट एट फ्युचर मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाओ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ । हाङ्चाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट शोसमेतको व्यवस्थापन गरिएको छ ।