संसदका कर्मचारीको मागबारे कानूनमन्त्रीको संयोजकत्वमा समिति गठन  

काठमाडौँ । सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजीकरण गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरिएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुन लगायत नेताहरुको बैठकले कर्मचारीको मागबारे सहजीकरणका लागि समिति गठन गरेको हो ।

समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य रहेको सभामुखको सचिवालयले जनाएको छ ।

अतिरिक्त समयमा काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरू विभिन्न ११ बुँदे मागसहित आन्दोलनमा रहेका छन् ।