गमलामा बिरुवा रोपेर चुरेको संरक्षण हुँदैन : सांसद पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले चुरेको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुन नसक्ने भन्दै चुरे संरक्षणका लागि बिरुवा रोप्ने अभियान नै सुरु गर्नुपर्ने बताए।उनले चुरे मानवीय अतिक्रमणको दुष्चक्रमा परेको भन्दै चुरे दोहनलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताए।

उनले चुरे संरक्षणको लागि निश्चित कानुनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने पनि बता‌ए।

सांसद पौडेलले भने, ‘गमलामा बिरुवा रोपेर चुरेको संरक्षण हुँदैन। चुरे दिवसको दिन एउटा बिरुवा रोपेर पनि चुरेको संरक्षण हुन सक्दैन। चुरेको संरक्षण गर्ने हो भने बिरुवा रोप्ने अभियान सरकारले सुरु गर्नु जरुरी छ। सबै राजनीकि दलका कार्यकर्ताले बिरुवा रोप्ने अभियान सुरु गर्नु जरुरी छ। चुरे संरक्षणको विषयलाई सरकारले विशेष विषय बनाउनु जरुरी छ। चुरे संरक्षणको निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गरियोस्।’

चुरे संरक्षणका लागि भुइँ मान्छेहरूले आवाज उठाइरहेको भएपनि सरकारको त्यसतर्फ ध्यान नगएको उनको भना‍इ छ।