सवारी पार्किङ गर्न रोक लगाएपछि न्युरोडका व्यवसायीहरु आन्दोलित

काठमाण्डौँ - काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ गर्न रोक लगाएपछि व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले आज आफ्नो व्यवसायको सटर बन्द गरेर वडा कार्यालय पुगेर यो निर्णय सच्याउन आग्रह गरेका छन् ।

महानगरपालिकाले आजदेखि न्युरोडको कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध र वीर अस्पताल पछाडीको क्षेत्रका सडकमा पार्किङ गर्न निषेध गरिएको छ ।

महानगरले यसको विकल्पमा काठमाडौँ भ्यू टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने जनाएको छ । तर, व्यवसायीहरुले महानगरपालिकाको निर्णयले व्यापारमा असर पर्ने भन्दै सच्याउन माग गरेका छन् ।