दश दिन संसद् रोकेर सभामुखको जम्भो टोली स्विजरल्यान्डमा, उपसभामुखलाई छैन खबर !

काठमाडौँ - इन्टर पार्लियामेन्ट्री युनियन आईपीयूको सम्मेलनमा भाग लिन सभामुख देवराज घिमिरे नेतृत्वको टोली बिहीबार राति स्विजरल्यान्ड प्रस्थान गरेको छ । आईपीयूको १४८औँ महासभामा भाग लिन राजनीतिक दलका प्रमुख सचेतकसहित १० जनाको टोली लिएर सभामुख स्विजरल्यान्ड गएका हुन् ।

आईपीयू महासभा चैत १० देखि १४ सम्म स्विजरल्यान्डको जेनेभामा हुँदै छ । सभामुखको टोलीमा प्रमुख दलका प्रमुख सचेतक सहभागी छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार भ्रमण दलमा छन् ।

भ्रमणमा जाने भएपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक चैत १८ गतेसम्म स्थगित गरेका छन् । सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनसहितका काम गर्ने उपसभामुख इन्दिरा राना भने भ्रमणबारे बेखबर छिन् । उनले विभिन्न व्यक्तिमार्फत सुन्नेबाहेक आफूले औपचारिक जानकारी नपाएको बताइन् ।