'जलसंकट समाधान गर्न जलाधार क्षेत्रको संरक्षण गरौं' : राष्ट्रपति पौडेल 

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । 

विश्व पानी दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै उनले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वर्द्धन गर्नुपर्ने बताए । 

सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत पुनःभरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले प्राचिन एवं आधुनिक प्रविधिको मिश्रण गरेर जलाशययुक्त योजनाको तर्जुमा पनि गर्न आवश्यक रहेको बताए । 

भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनःभरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको जनाउँदै उनले अव्यवस्थित मानवबस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएका बताएका छन् ।