सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

काठमाडौँ - आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गरेका छन् । सभामुख घिमिरेले बुधबार साँझ आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलसँग भेट गरेका हुन् । भेटमा दुई देशका संसदबीच संसदीय आदान प्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।

नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगष्ट १९ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । सन् २०१९ मा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुख सान ओ फारगेलले नेपाल भ्रमण गरेका थिए । 

सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुइै देशको आपसी बुझाइ, सदभाव तथा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । ‘दुई देशको सम्बन्ध प्रगाढ र बलियो बनाउन हाम्रा संसद र सांसदहरुको भूमिका छ,’ सभामुखले भेटमा भने, संसदीय अभ्यासको आपसी अनुभव आदान प्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफ्ना नागरिकहरुका हक अधिकार सुनिश्चित गर्न सकिन्छ ।’