प्रचण्ड र सीबीच हाङझाउमा भेट हुने, औपचारिक घोषणासहित कार्यक्रम तालिका सार्वजनिक

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबारदेखि एक साता लामो चीनको भ्रमण गर्ने औपचारिक घोषणासहित कार्यक्रम तालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले आज (बिहीबार) विज्ञप्ति जारी गरी भ्रमणको तालिका सार्वजिनक गरेको हो । चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा हुन लागेको भ्रमणमा उनले राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नेछन् । आसन्न चीन भ्रमणका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ र त्यहाँका राष्ट्रपति सी चिनफिङबीच दुई पटक भेटवार्ता नहुने भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग दुई पटक भेटवार्ता गर्ने अनुमान गरिएकामा एक पटक मात्र हुने भएको हो ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहनेछन् । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको समेत हुनेछन् । राष्ट्रपतिसँग हाङझाउमै भेट हुनेछ ।

उनले बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्नेछन् । प्रधानमन्त्रीले चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद् (सीसीपीआईटी), नेपालको उद्यो वाणिज्य महासंघ र बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको ‘चीन–नेपाल लगानी सम्मेलन’ लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनले चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् ।

यो भ्रमणले सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउनुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने विज्ञप्तिमा छ । प्रधानमन्त्री ३० सेप्टेम्बरमा स्वदेश फर्कने छन् । संयुक्त राष्ट्रसंघको महासभा भाग लिन हाल अमेरिकाको न्युयोर्क पुगेका दाहाल त्यतैबाट चीन जानेछन् ।