माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त भएको भन्दै केन्द्रिय सदस्य शर्माले छाडे पार्टी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएको भन्दै रामकुमार शर्माले पार्टी परित्याग गरेका छन्।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूले माओवादी छाडेको  घोषणा गरेका छन् ।

संविधान सभा सदस्य समेत रहेका शर्माले १७ हजारको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलंकित गर्ने काम भएकाले आफूले माओवादी छाडेको बताएका छन् ।

द्वन्द्वकालमा आफैले उठाएको मुद्दाबाट माओवादी च्यूत हुँदै गएको र माओवादी पार्टी,  पार्टी नभएर गुटै गुटका महासंघमा रुपान्तरण भएकाले पार्टी छाड्नु परेको शर्माको निष्कर्ष छ।

उनले अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै यस्तो पत्र लेखेका छन्-

आदरणीय अध्यक्ष क.प्रचण्ड

नेकपा (माओवादी केन्द्र)

बिषय-राजीनामा

३बर्ष को भूमिगत जीवन र १५ बर्ष को खुल्ला (संसदिय) राजनीति मा आदरणीय अध्यक्ष क.प्रचण्ड संग केन्द्रीय समिति मा रहि काम गर्ने अबसर प्राप्त भयो ! यो अबधीमा वहा लगायतका नेताहरु संग सहकार्य गर्दा अमुल्य अनुभव एवं ज्ञान प्राप्त गर्ने अबसर मिल्यो ! यसको लागि अध्यक्ष लगायत सम्पूर्ण साथीहरु लाई हार्दिक धन्यावाद दिन चाहन्छु !

नेकपा माओवादी पार्टी को असल नीति र क्रान्तिकारी नेतृत्व कै कारण मैले सरकारी सेवा बाट बिद्रोह गरी भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरे! जनयुद्ध को दौरान आफु सौभाग्यवश पटक-पटक बाच्न सफल भएपनि आफ्नो परिवार को सदस्य ले शहादत प्राप्त गरे! म निर्बाचित संविधान सभा पद माओवादी कै कारण राजीनामा नै दिए ! म माओवादी पार्टीको एउटा बफादार सिपाही भएर इमानदारी पुर्वक देश र जनताको पक्षमा दुई दशक सम्म योगदान गर्ने अबसर प्राप्त गरे!

माओवादी पार्टी मा संलग्न हुदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकार बाट भैरहेको काम को समिक्षा गर्दा आकाश पताल को फरक पाएको अनुभुति हुन्छ! माओवादी पार्टी ले लिएका क्रन्तिकारी नीतिहरू आत्मनिर्णय को अधिकार र पहिचान सहित को प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहित पुर्ण समानुपातिक समाबेशी संसद, क्रान्तिकारी भुमिसुधार, निशुल्क एवं गुणस्तरिय शिक्षा र स्वास्थ्य को साथै रोजगारीको ग्यारेन्टी सहित नया नेपाल बनाउने सपना मात्रै तुहिएको छैन!महान जनयुद्ध को समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै बिभिन्न भ्रष्टाचार काण्ड मा संलग्न भएको देखेर आत्म ग्लानी मात्रै भएको छैन १७ हजार नेपाली नागरिक ले दिएको बलिदान र त्यसको जगमा भएको महान जनयुद्ध लाई नै कलंकित गर्ने काम भैरहेको महशुश गरेको छु !

सम्मानिय प्रधानमन्त्री प्रचण्ड ज्यूले दैनिक जसो अभिव्यक्तीमा सुशासन ,समृद्धी र समाजिक न्याय को कुरा जति नै गरेपनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरु बिभिनिन भ्रष्टाचार काण्ड मा संलग्न हुनु! माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासंघ को रुपमा रुपान्तरण हुनु ! १० बर्षे जनयुद्ध को दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुदै जानु र जनादेश बिपरित बिदेशी शक्तिको आडभरोसामा सरकारमा रहन कै लागि पटक-पटक गठबंधन फेरिरहने र देशलाई अस्थिरता एवं बिदेशीको क्रिडास्थल बनाई अन्नत अध्यारो दिशा तर्फ धकेले को महशुश गरेको छु! यस्तो अबस्थामा माओवादी पार्टी मा बसिरहन मेरो नैतिकता ले दिएन तसर्थ आज कै मिति बाट म राम कुमार शर्मा नेकपा (माओवादी केन्द्र) को सम्पुर्ण जिम्मेवारी बाट राजीनामा दिएको छु !