समृद्धिको यात्रालाई गति दिँदै जनताको चाहना पुरा गर्ने अर्थमन्त्री पुनको प्रतिबद्धता

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले जनताको तीव्र विकासको चाहना पुरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले पुरा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बुधबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री पुनले नयाँ सत्तासमिकरणमा संलग्न राजनीतिक दलका तर्फबाट न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तयार भएको भन्दै जनताको तीव्र विकासको चाहना पुरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले पुरा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीब्रता दिन र निजी क्षेत्रलाई विश्वासमा लिई अगाडि बढ्ने बताए ।