सरकारको इन्जिन नै बिग्रिएकाले केही काम नलाग्ने निष्कर्षमा पुगियो : रामहरि खतिवडा   

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारको इन्जिन नै बिग्रिएको संज्ञा दिँदै केही काम नै नलाग्ने आभास भएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गियर परिवर्तन गर्ने भने पनि एक्सिलेटर र इन्जिन नै बिग्रिएकाले काम नलाग्ने निष्कर्षमा पुगिएको सुनाए ।

“विभिन्न आयोग बनाउँछु भनेको उल्लेख गरेको पाइयो । सहकारी ठगीको एउटा संसदीय समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला,” उनले भने ।

त्यस्तै, उनले सरकारको साझा न्यूनतम कार्यक्रममा विभिन्न विषयमा छानबिन आयोग गठन गर्ने भनिए पनि सहकारी ठगीको विषयमा छानबिन समिति गठन गर्न माग गर्दा भागेर हिँडेको आरोप लगाए ।