नेपालको सिमेन्ट निर्यातमा देखिएको बढ्दो ग्राफ, मासिक ३१ करोडको निकासी !

काठमाण्डौँ - विशेषगरि सरकारी नीतिले पनि सिमेन्ट निर्यातमा प्रोत्साहन गरेको छ । हाल सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएको छ । त्यसबाट सिमेन्ट उद्योगहरू निर्यात गर्न प्रोत्साहित भएका छन् ।

 देशभित्र सिमेन्टको मागमा कमी आए पनि  निर्यातको आँकडा भने निरन्तर बढेको छ । अहिले नेपालको कुल निर्यातमा सिमेन्टको हिस्सा २।४७ प्रतिशत पुगेको छ । 

पछिल्लो नेपाली सिमेन्ट तथा क्लिङ्करले अन्तर्राष्ट्रिय बजार पाउँदै गएका छन् । नेपालको सिमेन्ट तथा क्लिङ्करको मुख्य बजार भारत हो । नेपालबाट आधिकारिक रूपमा पहिलो पटक तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । गत वर्ष असार २४ गते उक्त सिमेन्ट भारत निर्यात गरिएको थियो । 

हाल नेपालबाट घोराही, बालाजी, तानसेन, अर्घाखाँची सिमेन्ट, सिजी सिमेन्ट भारततर्फ निर्यात हुँदै आएका छन् । यी उद्योगहरूले हाल भारतीय बजारमा सिमेन्ट निर्यात गर्दै आएका छन् । नेपाली सिमेन्ट तथा किङ्कर भारतको विहार र उत्तर प्रदेशबाट बढी माग हुने गरेको व्यवसायीहरू बताउँछन् ।

भारतपछि दक्षिणी अफ्रिकाको एक मुलुक नामिबीयामा पनि नेपाली सिमेन्ट तथा किङ्कर पुगेको छ । फागुन मसान्तसम्मको आँकडामा नामिबीयामा १० लाख ४९ हजार रुपैयाँ बराबरको सिमेन्ट पुगेको हो । तर, यस बाहेक हिस्सा अर्थात् २ अर्ब ४७ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट तथा क्लिङकर भने भारतले किनेको छ । 

नेपाली उद्योगहरूले हाल औसतमा झन्डै ३१ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात गर्दै आएका छन् । पछिल्लो आठ महिनाको तथ्याङ्क अनुसार मासिक ३० करोड ८९ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात हुँदै आएको छ ।

फागुन महिनामा  उद्योगीहरूले ४१ करोड ८ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेका छन् । तर, गत असोजमा भने यो वर्षकै उच्च ४३ करोड ४५ लाख रुपैयाँ बराबरको सिमेन्ट निकासी भएको थियो । विभागका अनुसार गत माघमा २९ करोड ७५ लाख, पुसमा २७ करोड ९ लाख, मङ्सिरमा ३६ करोड १५ लाख, कात्तिकमा २७ करोड ७६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । यस्तै, गत भदौमा १८ करोड ३४ लाख र चालु आवको पहिलो महिना अर्थात् साउनमा २३ करोड ४९ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको विभागले जनाएको छ ।