माओवादीसँग एकता सम्भव छैन : डा.बाबुराम भट्टराई  

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपा (माओवादी केन्द्र) सँग एकताबारे कहिल्यै नसोचेको दाबीगरेका छन् ।

बुधबार पार्टी मुख्यालय, सुविधानगरमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीसँग तत्काल एकता सम्भव नरहेको पनि उल्लेख गरे ।

भट्टराईले पार्टीकै कतिपय नेताहरूको पछिल्लो अराजनीतिक गतिविधिका कारण पुराना भन्दा नयाँ दल किन फरक भन्ने गम्भीर प्रश्न उठेको पनि बताए ।

नयाँका नाममा पुरानोतिर फर्किने कुरा हुँदैन। लोकतन्त्रमा आधारित समाजवाद र समाजवादउन्मुख अर्थतन्त्र भन्ने कुरालाई कार्यान्वयन गर्ने शक्ति निर्माण गर्न खोजेका हौँ,’ उनले भने, ‘त्यसबाहेक हामीले अरु सोचेका छैनौँ। पुराना दलहरूसँग एकताबारे सोचिएको छैन।’

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितले माओवादीसँग एकता गर्ने निर्णय गरिसकेका छन् । यी दुई समूहको विवादका कारण नेसपा विभाजित भइसकेको छ । यस्तोमा भट्टराईले माओवादीसँग एकता सम्भव नहुने बताएका हुन् ।