लक्ष्यको ७३.९६ प्रतिशत राजस्व सङ्कलन, कुन शीर्षकमा कति ?

काठमाडौँ - चालु आर्थिक बर्ष २०८०र८१ को ८ महिनामा सरकारले ६ खर्ब ३९ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारले फागुनसम्ममा ६ खर्ब ३९ अर्ब ४ करोड ६० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

यो गत आर्थिक बर्ष २०७९र८० को सोही अवधिको तुलनामा ९.६६ प्रतिशतले बढी हो । गत बर्ष फागुनसम्ममा ५ खर्ब ८२ अर्ब ७७ करोड १२ लाख रुपैयाँ सङ्कलन भएको थियो ।

यद्यपि, सरकारले फाुगनसम्म सङ्कलन गरेको राजस्व निर्धारण गरेको लक्ष्यको अनुपातमा भने ७३.९६ प्रतिशत मात्रै हो । यस अवधिमा ८ खर्ब ६४ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो ।

यता, ८ महिनामा सरकारले ८ खर्ब एक अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २२ अर्ब रुपैयाँ बढी हो । गतवर्ष फागुन मसान्तसम्म ७ खर्ब ७९ अर्ब ९२ करोड रुपैयाँ कूल खर्च भएको महालेखाको तथ्याङ्क छ ।

यस्तै, यस अवधिमा भएको कुल खर्चमा राजस्वको योगदान ७९.७२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा सोही अवधिमा भएको खर्चमा तत्कालीन समयमा उठेको राजस्वको योगदान ७४.७८ प्रतिशत मात्रै थियो ।

आन्तरिक राजस्वमा आएको सुधारले समग्र राजस्व वृद्धिमा टेवा पुगेको देखिन्छ । आन्तरिक राजस्व विभागले यस अवधिमा ३ खर्ब ११ अर्ब ९१ करोड १७ लाख रुपैयाँ सङ्कलन गरेको छ । यो गत आर्थिक वर्षको फागुनको तुलनामा ९.९९ प्रतिशतले बढी हो । गत आवको यस अवधिमा विभागले २ खर्ब ८३ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ राजस्व उठेको थियो । 

चालू आवमा आयकर र मूल्य अभिवृद्धि कर भ्याट सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । आयकरतर्फ १ खर्ब ६७ अर्ब ३३ करोड रुपैयाँ सङ्कलन भएको छ । यो गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा १६.१४ प्रतिशत हो ।
गत आवको यस अवधिमा एक खर्ब ४४ अर्बको आयकर सङ्कलन भएको थियो । त्यस्तै, मूल्य अभिवृद्धि कर भ्याट सङ्कलनमा ८.१८ प्रतिशतले वृद्धि भएको छ  ।